२८ पुस, झापा । झापास्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविर सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ भएको आगलागीमा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ ।
आगलागी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको । कसैले नियोजित रुपमा आगो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन् । आगलागी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको थियो ।