२८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहको संसदीय दलले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ । प्रदेश सभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सो समूहले ८ जनालाई निलम्बन गरेको हो ।
सो समूहले मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र बिमल कार्कीलाई निलम्बन गरेको छ ।
प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेको निलम्बन पत्रमा दलको बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले जनाकारी दिए ।