विश्व/प्रवास

चीन पुग्यो कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्लूएचओको टोली

who in china

१ माघ, काठमाडौं । पहिलोपटक कोरोना भाइरस पहिचान भएको स्थल चीनको उहानमा अनुसन्धानकर्ताहरुको १० सदस्यीय टोली पुगेको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) अन्तर्गतको टोली बिहीबार अनुसन्धानका लागि उहान पुगेको हो । महिनौंसम्मको कुटनीतिक प्रयासपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले डब्ल्युएचओको टोलीलाई भ्रमण अनुमति दिएका हुन् ।

टोलीमा समावेश वैज्ञानिकहरुले चमेरो वा अन्य कुनै जनावरबाट मानिसमा कोरोना सरेको थियो भन्नेबारे अध्ययन गर्नेछन् । २०१९ को अन्त्यतिर चीनको उहानमा पहिलोपटक पहिचान भएको यो भाइरसका कारण अहिलेसम्म विश्वभर १९ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले विदेशबाट चीनमा भाइरस आएको दाबी गरिरहेको छ । संभवत बाहिरबाट आपूर्ति हुने समूद्री खाना हुँदै चीनमा भाइरस फैलिएको हुनसक्ने उनीहरुको तर्कलाई वैज्ञानिकहरुले भने अस्वीकार गर्दै आएका छन् ।

उहान पुगेका डब्ल्युएचओको अनुसन्धान टोलीमा अस्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रुस, नेदरल्यान्डस्, कतार र भियतनामका विज्ञहरु छन् । चीन सरकारका प्रवक्ताका अनुसार यस साता अन्तर्राष्ट्रिय विज्ञहरुले चिनियाँ विज्ञहरुसँग भाइरसबारेको आफ्नो ज्ञान साटासाट गर्नेछन् । अन्तर्राष्ट्रिय टोलीलाई पहिले दुई सातासम्म क्वारेन्टाइनमा राखिनेछ । यस क्रममा उनीहरुको स्वाब र एन्टीबडी परीक्षण गरिनेछ । क्वारेन्टाइनमै छँदा पनि उनीहरुले चिनियाँ विज्ञहरुसँग भिडियो कन्फ्रेन्समार्फत कोरोनाबारे कुराकानी गर्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस