समाचार

स्थानीयको मन जित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

karnali academy of health and science

१ माघ, जुम्ला । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो । यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ । विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विस्तारै गति लिन थालेको छ ।

स्थापनाको एक दशकको अवधिमा स्वास्थ्य सेवामा कर्णालीका पाँच र सुदूरपश्चिमका चार जिल्लाको प्रमुख भरोसा बनेको कर्णाली प्रतिष्ठानले गति लिन थालेपछि यहाँका सेवाग्राही पनि खुशी भएको बताउने गरेका छन् । विशेषज्ञ जनशक्तिसँगै अत्याधुनिक उपकरण र सेवा थप हुँदै गएपछि प्रतिष्ठानले पनि यहाँका स्थानीय सेवाग्राहीको मन जित्दै गएको हो ।

यस्तै लामो प्रतिक्षापछि कर्णाली प्रतिष्ठानले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) अध्ययन शुरु गर्ने अनुमति पाएको छ । प्रतिष्ठानका निर्देशक डा.मंगल रावलका अनुसार अब छिट्टै एमबीबीएस र स्नातक तहका कार्यक्रम पनि शुरु हुँदैछन् । कर्णाली प्रतिष्ठानमा ३०० शययाको अस्पताल पूर्णरुपमा सञ्चालनमै रहेको छ । सधैँ छ÷सात  विशेषज्ञ र सात/आठ जना मेडिकल अधिकृतको भरमा चलेको प्रतिष्ठानमा हाल ७०/८० जना चिकित्सक कार्यरत छन् ।

निर्देशक डा.रावलका अनुसार चौबिसै घण्टा इमर्जेन्सी, रक्तसञ्चार सेवा, प्रयोगशाला, फार्मेसी, सिटी स्क्यानजस्ता महत्वपूर्ण सेवा विस्तार भएका छन् । दश शययाको आइसियू, १४ वटा भेन्टिलेटरसँगै एनआइसियू र पिआइसियु सेवासमेत शुरु भइसकेको छ । केही दिनमै हाइडिपेन्डेन्सी युनिट (एचडियू) बेडसमेत थपिँदैछ । अहिले सेवा विस्तारसँगै विगतको तुलनामा बिरामीको चाप पनि दोब्बर भएको उनले बताए । अस्पताल अहिले पूर्ण‘डिजिटल’ प्रणालीबाट सञ्चालन हुने गरेको बताइएको छ ।

माथिल्लो कर्णालीका पाँच जिल्लासहित बझाङ, बाजुरा, अछाम र जाजरकोटका जिल्ला अस्पतालले दिने सेवासमेत अहिले कर्णाली प्रतिष्ठानकै विशेषज्ञबाट सहयोग भइरहेको छ । दुर्गम जिल्ला मुगुदेखि कालिकोटको रासकोट, जुम्लाको सिंजा, दैलेखको राकममासमेत प्रतिष्ठानबाट खटिएका विशेषज्ञ एमडिजिपी चिकित्सकले सेवा दिइरहेका छन् । प्रतिष्ठानका चिकित्सकले पालैपालो यहाँका दुर्गम जिल्लामा पुगेर सेवा दिइरहेका छन् । समग्रमा कर्णाली प्रदेशका ३८ भिन्न ठाउँमा प्रतिष्ठानका चिकित्सकले सेवा दिइरहेका छन् । जारी कोरोना महामारीका समयमा पनि कर्णाली प्रतिष्ठानले पुर्याएको सेवा राष्ट्रिय तहमै उल्लेखनीय बन्यो । कुनैबेला एनपिएचएलपछि सबैभन्दा बढी नमूना परीक्षण कर्णाली प्रतिष्ठानमै भयो । गाउँगाउँमा क्वारेन्टिन बने र प्रतिष्ठानका चिकित्सकले त्यहीँ पुगेर सेवा पनि दिए ।

तीस हजारभन्दा बढीको नमूनाको पीसीआर परीक्षण यही प्रतिष्ठानको समन्वयबाट नै भयो । तीन सयभन्दा बढी सङ्क्रमितको प्रतिष्ठानबाट उपचार भयो । सम्भवत यस्तै सेवाको विस्तारको कारण पनि हुनसक्छ यहाँ कोरोनाजन्य मृत्यु पनि लगभग शून्य नै रह्यो । तत्कालीन काउन्सिल र अहिलेको चिकित्साशिक्षा आयोगका मापदण्डलगायतका कारणले प्रतिष्ठानमा एमबीबीएस सञ्चालन ढिला भएको छ । आयोगसँग समन्वय गरी शैक्षिक कार्यक्रमको विस्तारमा लागेको प्रतिषठनले पिजीमा बालरोग, एनेस्थेसिया र एमडिजिपीमा पढाउने अनुमति पाएको छ ।अस्पतालका शयया, वेसिक साइन्स भवन, होस्टल, जग्गासहित फ्याकल्टी पनि थपिएका कारण अब छिट्टै एमबीबीएस पढाई शुरु हुने उनले बताए । थप स्त्री तथा प्रसूति रोग, अर्थोसर्जरीमा पिजी शुरु गर्ने अनुमतिका लागि प्रस्तावसमेत बनाएर पेश गरिएको छ । एमबीबीएसका लागि पनि आवेदन दिइएको छ ।

प्रतिष्ठान ऐनअनुसार पठनपठान शुरु हुँदा एमबीबीएसमा कर्णालीका नौ जिल्लाका विद्यार्थीलाई चिकित्सा शिक्षामा ४५ प्रतिशत आरक्षण छ । यसले गर्दा कर्णालीका विद्यार्थीले पढ्ने अवसर पाउने मात्रै होइन पढाइपछि सम्बन्धित जिल्ला र पालिकामै गएर सेवा गर्ने हुँदा यसले समग्र कर्णालीको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस