समाचार

निर्वाचनको वातावरण बनाउन लागिपरे ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल पक्ष

kp oli

२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन् । बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे । नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ ।

बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो ।

दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए । ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए । ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन् । त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन् । ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताएका छन् । ‘मूलतः सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसमा केन्द्रित हुने विषयमा छलफल भएको छ, काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यले पछिल्लो अवस्थाबारे धारणा राख्नुभयो,’ पौडेलले भने ।

देशभरबाट पार्टीको अवस्थाबारे जानकारी लिँदा बहुसंख्यक कार्यकर्ता आफूहरूतिर रहेको पाइएको पनि पौडेलले सुनाए । स्थायी कमिटी सदस्यको बिफ्रिङ सुनेपछि अध्यक्ष ओलीले सबै नेताहरूलाई ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे । ओलीले सबै तहबाट निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै हरेक निर्वाचन क्षेत्रमा निर्वाचनसम्बन्धी कार्यक्रम कार्ययोजना बनाउन सदस्यहरूलाई आग्रह गरे । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस