समाचार

भूकम्पलगायतका विपद् जोखिम न्यूनीकरणका गर्न एक ढिक्का भएर लागौं : प्रधानमन्त्री ओली

kp oli

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा आउन सक्ने भूकम्प लगायतका कुनै पनि विपद्का कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

वि.सं. १९९० साल माघ २ गते गएको शक्तिशाली भूकम्पको स्मरण गर्दै प्रत्येक वर्ष आजैको दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । यसै अवसरमा आज भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको आयोजनामा भक्तपुरको बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्दै छन् ।

‘‘सरकारको तर्फबाट सम्पूर्ण रूपमा प्रतिबद्धता जाहेर गर्दछु कि विपद्‍ जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘‘विपद्‍ जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौतालगायतका अन्तर्राष्ट्रिय अनुबन्धहरूले तय गरेका प्राथमिकता र लक्ष्यहरूलाई आधार मानेर नेपालको सन्दर्भमा हाम्रा आफ्नै प्राथमिकताहरू एवं लक्ष्यहरू तोक्ने र सो मुताविक निश्चित कार्ययोजनाका साथ अघि बढ्न नेपाल दृढ संकल्पित छ ।’’ उनले २०७२ सालको भूकम्पबाट भएको क्षतिबाट मुलुक भर्खर तंग्रिने क्रममा रहेको उल्लेख गर्दै उक्त भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल भूकम्पलगायत अन्य प्राकृतिक विपद्‍को उच्च जोखिममा रहेकाले यसबाट जनधनको क्षति हुनबाट जोगिन पूर्ण तयार रहनुपर्नेमा जोड दिएका छन् । यसका लागि नेपालको परम्परागत ज्ञान, सीप र विधिहरू अपनाउनुपर्ने उनले बताएका छन् । ‘‘यहाँहरूबाट नेपालको विपद्‍ जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा अझ धेरै सहयोग र साथको अपेक्षा गर्दै पुनः यस अवसरले हामी नेपालीलाई संकटको बेला अझ बढी एकताबद्ध र प्रतिबद्ध बनाउन योगदान गरोस् भन्ने कामना गर्दछु,’’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस