समाचार

प्रधानमन्त्री ओलीको प्रश्न, ‘मैले हँसाए भनेर किन पीर ?’

kp sharma oli

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेकपा ओली समूहको प्रदेश १ को आज काठमाडौंमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका वेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको बताए ।

आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको जिकिर गरे । उनले भने, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।’

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए । उनले प्रश्न गरे, ‘निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ?’

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने बताए । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य  चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस