समाचार

निर्वाचन आयोगले लियो राजनीतिक दलबाट परामर्श

nirwachan aayog

४ माघ, काठमाडौं । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले रायसुझाव लिएको छ ।

राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदान स्थल र केन्द्र पुनरालोकनका विषयमा केन्द्रित रहेर सुझाव लिइएको हो । मुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ ।

आयोगका अनुसार माघ १५ गते कार्यक्रमको सूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुनै नाम वा विवरण त्रुटि भएमा सच्च्याउन १६ र १७ गते निवेदन दिने र कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित सोही मितिमा नै उजुरी तथा दोहोरो नाम हटाउन निवेदन दिने कार्यक्रम तय भएको छ ।

माघ १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने, माघ २० गते मतदाताले दिएको सफाइका आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीसमक्ष सिफारिस गरिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस