
५ माघ, काठमाडौं । आजबाट कोरोना प्रभावित उद्योगीहरुले विद्युत डिमाण्ड शुल्कमा छुट पाउने भएका छन् । कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले बन्दाबन्दी अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट पाउने भएका हुन् ।
आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसहित बसेको बैठकले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताए ।
औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ ।
चालु आर्थिक वर्षको बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस