समाचार

नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला

bird

५ माघ, नवलपुर । जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भङ्गालो र सिमसारमा गणना गरिएको थियो ।

गत पुस २६ देखि यही माघ १ सम्म गरिएको गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पाँच प्रजातिका नयाँ जलपक्षी भेटिएका हुन् । निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रका जलपक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष यस क्षेत्रमा लाल ठुँडे हाँस, पानी चाह, चत्राङ, कैलो टाउके हाँस र मालचरी जलपक्षी गणना गरिएको जानकारी दिए ।

यी प्रजातिका चरा निकुञ्जको पश्चिम क्षेत्रमा पहिलो पटक देखा परेका उनकोे भनाइ छ । निकुञ्जको पश्चिम क्षेत्र अन्तर्गत पर्ने नारायणीको भङ्गालो तथा सिमसार क्षेत्रमा विभिन्न४६ प्रजातिका जलपक्षी भेटिएकासमेत उहाँले जानकारी दिए ।

निकुञ्जको नवलपरासी क्षेत्रमा यसवर्ष जलेवा चराको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिए । यसवर्ष गरिएको गणनाका क्रममा पश्चिम क्षेत्रमा दुई हजार ८१७ जलेवा भेटिएका थिए । गणनाका क्रममा पानी गौँथली, नेपाली हरिहाँसको सङ्ख्यासमेत वृद्धि भएको पाइएको उनले बताए ।

केही प्रजातिका जलपक्षीको सङ्ख्या बढेको भए पनि चखेवाको सङ्ख्यामा भने कमी आएको संयोजक चौधरीको भनाइ छ । उनकाअनुसार गत वर्ष ६ हजार ३१३ वटा भेटिएको चखेवा यस वर्ष पाँच हजार ५७६ वटा मात्रै भेटिएका छन् ।

पाँच दिन लगाएर गरिएको चरा गणनाका क्रममा जिल्लाको गैँडाकोटमा पर्ने सिख्रौलीघाटदेखि त्रिवेणीसम्मको क्षेत्रलाई तीन भागमा विभाजन गरेर जलपक्षी गणना गरिएको थियो ।

गणनामा संम्लग्न चराविद् तथा गणकहरुले टेलिस्कोप र वाइनाकुलरको सहायताले जलपक्षीको गणना गर्ने गर्दछन् । हिउँदको समयमा साइबेरियासहितको उत्तरी गोलाद्र्धबाट चरा जाडो छल्न नेपालका विभिन्न सिमसार तथा नदीमा आउने भएकाले यो समयमा जलपक्षीको गणना गर्ने गरिएको छ ।

मध्य पुसमा नेपालसहित एशियाका २७ देशका विभिन्न ६ हजार १०० स्थानमा जलपक्षी गणना गर्ने गरिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । मानवीय क्रियाकलापका कारण नदीमा प्रत्यक्ष असर पर्दा पछिल्लो समय जलपक्षीको बासस्थानमा समस्या उत्पन्न भएको अध्यक्ष चौधरीले बताए ।

नदीजन्य पदार्थको उत्खनन तथा नदीमा जथाभावी फोहर मिसाइदा जलचरको अस्तित्वसमेत खतरामा परेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस