विश्व/प्रवास

चीनले सार्वजनिक गर्‍यो प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न सक्ने रेलको डिजाइन

train china

६ माघ, काठमाडौं । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने अधिकारीहरुले बताएका छन् ।

यो रेल उच्च–तापक्रमयुक्त सुपर कन्डक्टिङ (एचटिएस) शक्तिमा चल्नेछ, जस्तो कि चुम्बकीय ट्रयाकमा रेल तैरिरहेजस्तो देखिनेछ । २१ मिटर लामो प्रोटोटाइप १३ जनवरीमा सिचुआन प्रान्तको छेन्दु शहरमा सार्वजनिक गरिएको हो ।

यस प्रोटोटाइप तयार गर्ने काममा खटिएका दक्षिणपश्चिम जिआओतोङ विश्वविद्यालयका उपाध्यक्ष तथा प्रोफेसर हि चुआनले ३ देखि १० वर्षभित्रमा यो रेल सञ्चालनमा आउन सक्ने जानकारी दिए । ‘सिचुआनसँग दूर्लभ प्राकृतिक स्रोतहरु छन् । स्थायी चुम्बकीय ट्रयाकहरु निर्माणका लागि हामीलाई यो निकै फाइदाजनक हुनेछ ।’

विश्वको सबैभन्दा ठूलो हाई–स्पिड रेल नेटवर्क चीनमै छ, जो ३७ हजार किलोमिटरसम्म फैलिएको छ । त्यस्तै विश्वकै अति तिव्र व्यवसायिक रेल साङ्घाई माग्लेभ पनि चीनमै छ,  यो चीनको पहिलो तिव्र गतिको माग्लेभ रेल हो । सन् २००३ बाट यसको शुभारम्भ भएको थियो ।

अधिकतम ४ सय ३१ किलोमिटर प्रतिघण्टाको उच्च स्पिडमा कुद्न सक्ने यो रेलले साङघाई पुदोङ विमानस्थल र पूर्वी साङघाईको लङयाङ सडकलाई जोड्छ । चीनले २०२२ को विन्टर ओलम्पिक अघि थप पूर्वाधार विकास गर्ने चटारो देखाइरहेको छ । विन्टर ओलम्पिक बेइजिङमा हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस