
६ माघ, काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।
१३ औं साग २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरू, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय मंगलबार विघटन भएको हो। २६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा भएको थियो ।
ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी २ सय ७ पदक जितेको थियो । गत मंसिरमा मात्रै एक वर्ष ढिलो गरी १३ औं साग खेलकुदको खर्च विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरेको थियो । जसमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ ।
साग खेलकुद सकिएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागअघि बताए पनि विवरण सार्वजनिक हुन झण्डै एक वर्ष लागेको थियो । पोखरा र जनकपुरमा भएको खर्च विवरण आउन समय लागेको र कोरोना माहामारीका कारण भनिएको समयमा काम पूरा गर्न नसकेको कारण खर्च विवरण सार्वजनिक गर्न नसकेको राखेपको दाबी थियो ।