७ माघ, पोखरा । अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको आरोपमा ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षक सोमबार बेलुका पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका–१ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका–११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिषकुमार बस्ताकोटी छन् ।
उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।