
८ माघ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।
देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा विभिन्न भू-भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा विहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राती प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।