अर्थनीति

६ महिनामा साढे ६ खर्बको आयात, निर्यातमा सामान्य सुधार

birjung naka

८ माघ, काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्यांकअनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार चालू आवको छ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको थियो ।

यसैगरी, ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा  ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।

हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले ६ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो । चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र १ खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजस्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले ४ खर्ब ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा  ८५ अर्ब ८० करोड, भदौमा  ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

यसैगरी, कात्तिक महिनामा १ खर्ब १० अर्ब २२ करोड, मंसिरमा १ खर्ब २३ अर्ब १ करोड र पुसमा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा  ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस