९ माघ, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
यसअघि पुस १० गते तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ ।
बैठकमा निवर्तमान मन्त्री नेपाललाई सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए । निवर्तमान मन्त्री नेपालले अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै भूमिका खेल्न नसकेको, समाजवादोन्मुख काम गर्न नसकेको,अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपुर्याएको र गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाएका थिए ।
नेकपा प्रचण्ड–माधव समूहका नेपालले सरकारको औचित्यता पुष्टि गर्न चुनौती दिए । निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे । अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ ।