
९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् ।
आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने बताए ।
गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए। राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए ।
फरक विचार सहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे । भ्रष्टाचार ,धर्म परिवर्तन, सर्वसत्तावाद र वेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले कांग्रेस कम्युनिस्ट असफल भएको दाबी गरे ।