समाचार

गैरकानुनी रूपमा कलेज खोलेर विद्यार्थीबाट लाखौं ठगेका राजाराम पक्राउ

rajaram

९ माघ, काठमाडौं । धनगढीमा लामो समयदेखि ठगी गर्दै आएका धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर फर्जी इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थीबाट लाखौँ रकम ठग्ने सञ्चालक राजाराम चौधरी र उनका सहयोगी शिवकुमार चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार अनुमति बिना गैरकानूनी रुपमा कलेज सञ्चालन गर्ने ३४ वर्षीय राजाराम चौधरीलाई कैलालीको लम्कीचुहा नगरपालिका–९, धनचैयाबाट पक्राउ गरिएको बताए । जिल्लाको गौरीगंगा नगरपालिका–८, स्थायी ठेगाना भएका ३३ वर्षीय शिवकुमार चौधरीलाई भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।

‘अनुमतिबिना नै गैरकानुनी रूपमा सञ्चालन गरी इन्टिच्युटमा अध्ययनरत १ सय १८ जनाबाट चौधरीले ४९ लाख ८ हजार ४ सय असुली गरेको देखिएको छ,’ उनले भने, ‘ठगी गरेको जाहेरी दरखास्तका आधारमा ठगी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको थियो । कैलाली जिल्ला अदालतले २ महिना कैद र ३ लाख ८ हजार जरिवानाको फैसला सुनाएको थियो ।’ चौधरीले थप १९ लाख ६५ हजार ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो ।

प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीबाट रकम असुली गरिएको थियो । तर, परीक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए ।

यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए । तर ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको अनुसन्धानबाट खुलेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस