
११ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन् । नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो ।
वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ । ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ । यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो । तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए । ‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो । काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भने । उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन । ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन। उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ ? यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भने ।
आयोजकका अनुसार पार्टीका सबै तहका नेताकार्यकर्ता, जनवर्गीय संगठन, शुभेच्छुक र सर्वसाधारण आमसभाका सहभागी हुनेछन् । आमसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् । ओलीले नेपाल–दाहाल समूहले आयोजना गरेको आमसभालाई ‘केही साना गल्लीमा मान्छे राखेर भीड देखाएको’ टिप्पणी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।