
११ माघ, काठमाडौं । भारत हरिद्वारस्थित दौलतपुर गाउँकी १९ वर्षीया सृष्टि गोस्वामी अहिले चर्चामा छिन् । कारण– सृष्टि आज (आइतबार) एक दिनको लागि उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दैछिन् । राष्ट्रिय बालिका दिवसको अवसर पारेर उनलाई मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।
प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।