समाचार

‘संसद पुनःस्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान हुँदैन’

mahanta thakur

११ माघ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनःस्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताएका छन् ।

आज आइतवार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनःस्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताएका हुन् । संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशीता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाई छ ।

बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिष्ट र काँग्रेसले देशलाई गोल चक्करमा फसाएको उनले बताए । जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमका बीच पार्टी एकता घोषणा भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस