१२ माघ, काठमाडौं । विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पाइएको दोस्रो देश भारत हरेक दिन सबैभन्दा बढी संक्रमित मर्ने १५ देशको सूचीबाट बाहिरिएको छ । पछिल्लो ११ दिनमा भारतमा कोरोनाबाट मर्नेको संख्या २ सय भन्दा कम रहेको पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर अमेरिकामा भने संक्रमण दर र मृत्यु दरमा गिरावट आउन सकेको छैन । आज पनि विश्वमा कोरोनाबाट सबैभन्दा बढी मानिसले ज्यान गुमाउने देशमा अमेरिका नै छ । गएको शनिबार मात्र अमेरिकामा ३ हजार ४ सय बढी संक्रमितको निधन भएको थियो ।
भारतको कुल संक्रमितमध्ये ६८ प्रतिशत सक्रिय संक्रमित मात्र तीन राज्यमा रहेको बताइएको छ । देशभर १९ करोडभन्दा बढी मानिसको कोरोना परीक्षण भएको छ । हिजो आइतबार १२ हजार ६ सय ९० जनामा संक्रमण पाइएको भारतमा कुल परीक्षणको ५ देखि ६ प्रतिशतमा मात्र संक्रमण पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
१ करोड ६ लाखभन्दा बढी संक्रमित भएको भारतमा अब मात्र १ लाख ८६ हजार सक्रिय संक्रमित रहेका छन् । १ लाख ५३ हजार मानिसको कोरोनाका कारण ज्यान गएको छ भने १ करोड तीन लाख २८ हजार बढी मानिस कोरोनामुक्त भइसकेका छन् ।
पछिल्लो समय भारत आफैंले कोरोना खोप उत्पादन गरी लगाउन थालिसकेको छ । जनवरी १६ देखि भारतले कोरोनाविरुद्धको खोप देशभर लगाउन थालिसकेको छ । जसले पनि कोरोना संक्रमण दरमा कमी ल्याइरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।