
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमवार) पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवम् राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरेका छन् ।
धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।
पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।