
१२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सोमबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अलोकतान्त्रिक भएको बताए ।
‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस