
१३ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी नि:शुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा नि:शुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविजविरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो ।
कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइने भएको छ ।
सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको हो,’ पशुपंक्षी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले बताए । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको उनले बताए । प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको उनले जानकारी दिए।
पहिलो चरणमो वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाई खोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले बताए । यो अवधीमा ३ सय बढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीको भनाइ छ ।
सोमबार तथा मंगलार बिहानसम्म करिब १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको छ,’ उनले भने । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंक्षी विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको उनले बताए । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने छ,’उनले बताए ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौं, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो। निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि बुधबारसम्म सञ्चाालन हुने जनाइएको छ ।