१३ माघ, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् । बिकलाई माघ ८ गते अपहरण र जबरजस्ती करणी मुद्दामा काठमाडौंको तीनकुनेबाट ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनले कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक(कामी) पक्राउ परेका हुन ।
४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालीका–१० देविनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।
घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए ।
तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए । उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको छ ।