
१३ माघ, वुटवल । नेकपाको प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद ब्युंटिए फेरि अर्को पार्टीमा एकलौटी काम गर्ने केपी ओली जस्ता नजन्मने बताएका छन् । मंगलबार रुपन्देहीमा सम्पादक, लेखक र बुद्धिजिवीहरुसँगको अन्तक्रियामा भुसालले संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिकरुपमा गरेको संसद विघटनलाई सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताए । उनले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठीक स्थानमा राख्ने भएको भुसालले बताए ।
नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको जानकारी दिँदै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको भन्दै ओलीले गल्ती गरेको बताए ।
नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए । उनले पार्टीमा धेरै कमी कमजोरी रहेको स्विकार गर्दै ती सबै कमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका प्रतिवद्धता व्यक्त गरे ।