
१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी भएका छन् ।
उनले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।