समाचार

जुम्लामा आगलागी हुँदा जले ३२ घर, तीन करोडको क्षति

Jumla ago

१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोडभन्दा बढीको क्षति भएको छ ।

सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए ।

सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले जानकारी दिए । सुधारिएको चुलोको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताए ।

आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको उनले बताए ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ । काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस