समाचार

दाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

dang corona vaccine

१४ माघ, दाङ । दाङमा कोरोना विरुद्धको पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा घोराही र तुलसीपुरमा गरि दुई स्थानमा खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थीलाई खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको हो । पछि अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले जिल्लाको एकमात्रै कोरोना परिक्षण प्रयोगशालाका रुपमा प्रतिष्ठान चुनिएको बताइन् ।

“कोरोना महामारीका बेला यसको रोकथामका लागि अग्रपंक्तिमा रहेर प्रतिष्ठानको जनशक्तिले काम गर्‍यो,” उनले भनिन्, “अहिले खोप लगाउन पनि प्रतिष्ठानले उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी पाएको छ, र प्रतिष्ठान यसका लागि पूर्ण रुपमा तयार छ ।” साथै उनले यो खोप मानव स्वास्थ्यका लागि हानि नगर्ने भएकाले नआत्तिन बताइन् । “यसले मानव स्वास्थ्यमा कुनै खाले गम्भीर असर पार्दैन,” उनले भनिन्, “फलतः कोरोनाविरुद्ध लड्ने यो खोपदेखि कोही डराउनु या आत्तिनुपर्ने छैन ।”

शुक्रबारदेखि लमही अस्पतालबाट पनि खोप लगाउन सुरु गरिने तयारी छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्लाको पश्चिम क्षेत्रका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराही क्षेत्रका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका लागि लमही अस्पतालमा खोप लगाइनेछ ।

पश्चिम क्षेत्रका तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, बबई र शान्तियनगर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लमही नगरपालिकासहित राप्ती, गढवा र राजपुर गाउँपालिकाका लागि लमही अस्पतालमा खोप लगाइने आचार्यले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा जिल्लामा तीन हजार जनालाई पुग्ने खोप आइपुगेको छ । अबका चरणमा आउने खोप सुरक्षाकर्मीलगायत सर्वसाधारणहरुको पहुँचमा पनि पुग्ने आचार्यले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस