
१४ माघ, काठमाडौं । नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।
जसमध्ये प्रदेश नम्बर १ मा एक हजार २५५, प्रदेश नम्बर २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म खोप लगाउने कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै खोप लगाउन सुरू गरिएको हो ।
सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस