
१४ माघ, धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले मंगलबार साँझदेखि रातिको करीब साढे १० बजेसम्म छापामारेको थियो । यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको जानकारी दिएका छन् ।
सवारी चालक परिचय–पत्र वापत उठाएको घुसको रकम कार्यालय भित्रै रहेको भनि गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापामारी गरेको थियो । सो अवधिमा अख्तियारको टोलीले कार्यालय प्रमुखसहित २ जना करारका कर्मचारी, १ जना कार्यालय सहयोगी र २ जनालाई विचौलियाको आरोपमा कार्यालय भित्रै थुनेर राखेको थियो ।
अख्तियारको टोलीले करिब ७ घण्टाको अप्रेशन गरे पनि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयासहित नियन्त्रणमा लिएको थियो ।