
१५ माघ, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेड अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको २३ औं मिनेटमा किन ब्रियनको गोलमा सेफिल्डले अग्रता बनायो । उनको गोलमा पहिलो हाफमा सेफिल्ड एक गोलले अघि रह्यो । खेलको दोस्रो हाफमा ह्यारी मागुइरले गोल गर्दै म्यानचेस्टरलाई बराबरीमा फर्काए । उनले खेलको ६४ औं मिनेटमा एलेक्स टेलेसको पासमा गोल गरेका थिए । तर ७४ औं मिनेटमा सेफिल्डले फेरि अग्रता लियो । यसपटक ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई अघि बढाए। त्यसपछि दुबैपक्षबाट गोल नहुँदा उनको गोलनै म्यानचेस्टरमाथि जितका लागि निर्णायक बन्यो ।
यो पराजयसँगै म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा उक्लने मौकाबाट चुकेको छ । २० खेलबाट ४० अंक जोडेको युनाइटेड तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ । उता जितका बावजुत सेफिल्ड तालिकाको पुछारमा छ । यो सिजन २० खेल खेलेको सेफिल्डको यो दोस्रो जित हो ।