विश्व/प्रवास

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतंकवाद’को चेतावनी

usa security

१५ माघ, काठमाडौं । अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतंकवादको जोखिम रहेको भन्दै एउटा चेतावनी दिएका छन् । उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ ।

उसले जारी गरेको एउटा सूचनामा “सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट” त्यस्तो जोखिम रहेको उल्लेख छ । सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको हो । तर उक्त सूचनामा त्यस्तो कुनै ठोस योजनाको जानकारी भने नभएको बताइएको छ । बुधवार जारी गरिएको एड्भाइजरीमा सफलतापूर्वक सम्पन्न राष्ट्रपतीय कार्यकालको उद्घाटन समारोहको “केही सातासम्म” त्यस्तो जोखिम रहन सक्ने जनाइएको छ ।

“सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंसक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन् ।” निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि ती “स्वदेशी अतिवादीहरूको” निसाना हुनसक्ने पनि सूचनामा उल्लेख छ। सामाजिक सञ्जाल साइट टेलिग्राममा थुप्रै दक्षिणपन्थी समूहहरूले क्यापिटल भवनका आक्रमणकारीहरूलाई “स्वतन्त्रता पक्षधर योद्धा” र “नायक” को सङ्ज्ञा दिएका छन् ।

फेसबुक र ट्विटरमा त्यस्ता समूहहरूलाई प्रतिबन्ध लगाएपछि उनीहरूले टेलिग्राम प्रयोग गर्न थालेका हुन् । यही ६ जनवरीमा ट्रम्प समर्थकहरूले अमेरिका संसद्मा हंगामा गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार क्यापिटल भवनमा मच्चाइएको हंगामालाई जोडेर अहिलेसम्म ४०० सन्दिग्ध व्यक्तिको पहिचान भएको छ भने १३५ जनालाई पक्राउ गरिसकिएको बताइएको छ ।-दृष्टिबाट

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस