
१५ माघ, पोखरा । वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाई पक्राउ गरेको हो ।
ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका घर भई पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए।
उनले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानाडा, अमेरिकालगायतका देशहरुमा धेरै मानिसहरुलाई रोजगारको लागि पठाइसकेको बताउँदै अरुलाई पनि विश्वास दिलाउने गरेका थिए । विश्वकर्माले ठगेका पीडित कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका ३३ जना रहेको डिएसपी हमालले बताए ।
उनीहरुलाई क्यानडा पठाइदिन्छु भनि ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी गरेको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । पीडितलाई विश्वासमा पार्नका लागि बिभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको पाइएको छ । उनलाई ठगीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी हमालले बताए ।