१५ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा ईन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे ।
उनले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा ईन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उहाँले प्रतिबद्धता जनाए । मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क र नागरिक एपको प्रभावकारिताका लागि सबैको पहल जरुरी रहेको बताए ।
उनले एक अर्कामा आरोप प्रत्यारोपमा नभई सकारात्मक ढङ्गबाट समिक्षा गर्दै अघि बढ्नका लागि पनि यो समन्वय बैठक डाकिएको बताए । मन्त्रालयकोतर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे । उनले सबै ईन्टरनेट सेवा प्रदायक कम्पनीको अभिलेखिकरण गर्नु आवश्यक भएको औँल्याए ।
उनले अगामी दिनमा ईन्टरनेट सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र ग्रामिण क्षेत्रमा सेवा कसरी अघि बढाउन सक्छौँ भन्ने विषमया गम्भिर हुन पनि उनले आग्रह गरे ।
“ग्रामिण क्षेत्रमा ईन्टरनेटबाटै कसरी शिक्षा लिन सक्छन् भन्नेमा ध्यान दिनुपर्छ, हिमाली र पहाडी क्षेत्रमा बालबालिका शिक्षाबाट बञ्चित भएका छन्, समयमै इन्टरनेट पुर्याउन सके प्रभावकारी हुनेछ, त्यसतर्फ सबैको ध्यान पुगोस्”, मन्त्री गुरुङले भने । उनले सेवा प्रभावकारी बनाउन सबै स्थानीय तह, प्रदेश र जिल्ला छुट्याएर क्लष्टर बनाई कार्यविभाजन गरी अघि बढ्ने बताए ।
कुनै पनि भूगोलमा ईन्टरनेट सेवा छैन भन्ने कुरा नआओस् भनेर नै बैठक राखिएको मन्त्री गुरुङको भनाइ थियो ।
सो क्रममा ईन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले समन्वयमा मात्रै समस्या समाधान गर्न सकिने बताउँदै यसका लागि सरकारले दिने सेवा सुविधा बढाउँदै करमा छुट गर्नुपर्नेमा जोड दिएका थिए ।