समाचार

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

covid vaccine

१७ माघ, बाग्लुङ । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताए । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भने,“जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए । पहिलो दिनमै बागलुङका ११७  स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गर्नुभएको थियो । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा पराजुली खोप सबैसम्म पु¥याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राख्छन् । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन् ।

उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उनको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताउनुभयो । आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताए । “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भने, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताए । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *