समाचार

खानेपानीमन्त्री मणि थापाले सम्झिए ‘श्री ५ को सरकार !’

mani thapa

१७ माघ, काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समूहमा विभाजित छ । यसरी विभाजित हुँदा तत्कालीन एमालेका नेताहरु प्रचण्ड समूहतिर तत्कालीन माओवादीका नेताहरु ओली समूहतिर पुगेका छन् । यो अवस्थाले पछिल्लो समयमा भइरहेका कार्यक्रममा सम्बोधनका क्रममा नेताहरु अल्मलिरहेका छन् ।

एक महिनाअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री दावा लामाले हाम्रो अध्यक्ष प्रचण्ड भन्दै सम्बोधन गरेका थिए । माओवादी छाडेर ओली समूहमा लागेका उनले सम्बोधनका क्रममा ‘हाम्रो अध्यक्ष प्रचण्ड’ भन्दै सम्बोधन गरेपछि तत्कालै  सच्याएका थिए। उनले सच्याउँदै ‘हाम्रो अध्यक्ष केपी ओली’ भनेर सच्याएका थिए ।

यसैगरी सुर्खेत पुगेका खानेपानी मन्त्रीको पनि शनिबार जिब्रो चिप्लिन पुगेको छ । खानेपानी तथा केपी ओली समूहका नेता मणि थापाले नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्दै सम्बोधन गरेका छन् ।

पार्टीको कार्यक्रममा सुर्खेत पुगेका मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ । यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

मञ्चमा बसेकाहरुले  गलत बोलेको भनेपछि उनले  ‘ए सरी नेपाल सरकारको तर्फबाट’ भनेर बोली सच्याएका थिए । मन्त्री थापाले सम्बोधनका क्रममा अरु केही कुराहरु पनि थपे ,’०६५ मा गणतन्त्र आएपछि श्री ५ सरकार भन्ने चलनको अन्त्य भएर नेपाल सरकार भनिँदै आएको छ । ‘नेपालमा २००७ सालदेखि  राजनीतिक क्रान्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो ।’ उनले थप्दै गए ‘नेपाली जनताले आफनै देशमा बास,गाँस, कपास पाउनुपर्छ । जनताले आफनै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनुपर्छ । आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्छ । अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ । नयाँ आन्दोलनको गुण छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस