
१८ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाइदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा विवादास्पद रुपमा प्रधानमन्त्रीले गरेका नियुक्ति सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ३० गते अध्यक्षसहित तीन सदस्यको मात्रै उपस्थितिमा परिषदको बैठक सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसपछि सभामुख सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको परिषदको बैठकले संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरेको थियो ।
सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन र नियुक्तिको सिफारिस विवादास्पद भएको भन्दै सिफारिस परिषदमा फिर्ता पठाएका हुन् । आइतबार सभामुख सापकोटाले संसदीय सुनुवाइ सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाएको सम्बन्धमा शीर्षकमा तीन पृष्ठ लामो पत्र पठाएका हुन् ।