१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।
कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षा स्थगित भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिनेछ ।