समाचार

यस्ता छन् प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकका निर्णयहरु !

Prachanda nepal

१९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए । यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए । बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देश्न जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस