समाचार

जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध परेको उजुरीमाथि अख्तियारको थाल्‍यो अनुसन्धान

Janakpurdham SubMetro

१९ माघ, जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले उपमहानगरपालिकाविरुद्ध उजुरी परेपछि सोमबार छापा मारेको हो ।

अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले उपमहानगरविरुद्ध परेका उजुरीहरूको बिहान १० बजेदेखि दिउसो साढे ४ बजेसम्म छानबिन गरेको छ । लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरीक्षण गर्न सुरु गरेको टोलीको नेतृत्वकर्ता उपसचिव ज्ञवालीले जानकारी दिए ।

उपमहानगरद्वारा सञ्‍चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरीमाथि छानबिनलाई जारी राखिने र गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।

श्रोतका अनुसार अख्तियारले उजुरी परेका मध्येका केही सम्पन्‍न योजनाका फाइलसमेत नियन्त्रणमा लिएको छ । ती फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिनेछ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गर्नेछ ।

ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायत छन् ।

यता उपमहानगरकी उपमेयर रीता मिश्रले आज अख्तियारको टोली आएको र छानविन सुरु गरेको बताइन् । उनले १०-१५ वटा योजनामा परेको उजुरीको आधारमा अख्तियारको टालीले छानविन गरेको बताइन् । उपप्रमुख मिश्रले आफूहरु उजुरी परेको योजनाहरु बजेटभन्दा पनि कम रकममा काम गरेकोले कुनै गलत नदेखिएपछि अख्तियार टोली छानविन गरेर फर्केको बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस