
१९ माघ, सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले एकद्वार प्रणालीबाट कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न विकास साझेदारहरुसँग अन्तरक्रिया गरेको छ । आयोगले सोमबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा कार्यरत विकास साझेदारहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरि दोहोरोपना हटाउन एकद्वार प्रणालीमा लगानी गर्न छलफल गरेको हो ।
कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाई कार्यक्रम सञ्चालन गरिरहेका साझेदारहरुको कार्यक्रम र कार्यान्वयन अवस्थाका बारेमा जानकारी आदान–प्रदान गर्ने, विकास साझेदारहरुका कार्यक्रमहरुलाई सरकारका योजना तथा कार्यक्रममा मुल प्रवाहिकरण गर्ने र कार्यक्रम कार्यान्वयनमा रहेको दोहोरोपना, समन्वय र प्रतिवेदनको अबस्थावारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले बताए ।
कार्यक्रममा विकास साझेदार सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कर्णाली प्रदेशमा कार्यरत सरोकारवालाहरुको कार्यक्रम कार्यान्वयनको अबस्था वारेमा जानकारी प्रस्तुत गरेका थिए । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले कर्णालीको आवश्यकता महत्वसँग जोडिएका योजना तथा कार्यक्रम ल्याउन विकास साझेदार सस्थाहरुलाई आग्रह गरे ।
उनले भने, ‘समाजमा रहेका असमानताहरु, विभेद, कुसंस्कारलाई सुधार गर्न योजना तथा कार्यक्रम वैज्ञानिक हुनुपर्छ । दोहोरोपना नहुने गरी सबै विकास साझेदारहरुले योजना तथा कार्यक्रम निमार्ण तथा कार्यान्वयन गर्नुपर्छ ।’
कर्णालीको पहिचान र परिचालनमा छुटेका अरु विकास साझेदारको खोजी गरी कर्णालीमा लगानीको आकर्षण वढाउन विकास साझेदारहरुको भूमिका महत्वपुर्ण हुन्छ’ योजना आयोगका सदस्य रोकायाले भने । कर्णाली प्रदेश योजना आयोगले तयार गरेको परियोजना बैंकमा विकास साझेदारहरुले अध्ययन गरेका परियोजना समावेश गर्नका लागि सहयोगको अपेक्षा गरिको उनले बताए ।
कर्णालीको आवश्यकता र प्राथमिकतामा रहेर योजना तथा कार्यक्रम निर्माण गर्न विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले कर्णाली प्रदेशको लगानी सम्मेलनमा लगानी आकर्षित गर्नको लागि सहयोग गर्न डाक्टर रोकायाले आग्रह गरे ।
कर्णालीको विकास र समृद्धिको लागि निर्माण भएको पञ्चवर्षीय योजनामा प्राथमिकता परेका योजनाहरुको अपनत्व विकास साझेदारहरुले लिनुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका सचिव घनश्याम उपाध्यायले बताए । विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपतामा जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशमा रहेका विकास साझेदारहरुको परियोजना र लगानीको अवस्थाबारे प्रणालीमा विकास साझेदार नामक प्रोफाइल पनि प्रकाशन गरिेने आयोगले जनाएको छ ।