
२० माघ, काठमाडौं । रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ र यसले अस्पताल भर्ना हुन र मृत्युदर रोक्न पनि पूर्ण सुरक्षा दिनेछ । अन्तिम परीक्षण डाटा सार्वजनिक हुनअघि नै प्रयोगमा आएकाले यसअघि यो भ्याक्सिनलाई लिएर केही विवाद निम्तिएको थियो । यद्यपी, यसको प्रभावकारिता र लाभ अहिले प्रदर्शित भएको वैज्ञानिकहरुले बताएका छन् ।
झन्डै २० हजार जनामा गरिएको अन्तिम चरणको ट्रायलमा यो भ्याक्सिन ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको लान्सेटको रिपोर्टमा उल्लेख छ । यस परीक्षणमा ६० वर्षमाथिका २ हजार १ सय ४४ जना सहभागी थिए । रुसले गत अगस्ट तेस्रो चरणको परीक्षण सुरु गर्नुुअघि नै भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।
त्यसैले, कोभिड १९ विरुद्ध आपतकालिन प्रयोगको अनुमति पाउने यो पहिलो भ्याक्सिन हो । फाइजर, मोर्डना, अक्सफोर्ड–एस्ट्रेजेनेका र जान्सेन भ्याक्सिनले पनि अहिले प्रयोगको अनुमति पाइसकेका छन् । फाइजर र मोर्डना अमेरिकी भ्याक्सिन हुन् भने अक्सफोर्ड–एस्ट्रेजेनेका बेलायतमा विकास भएको भ्याक्सिन हो । त्यस्तै, जान्सेन बेल्जियममा विकास भएको भ्याक्सिन हो ।