सूचना प्रविधि

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

amazon

२१ माघ, वासिङ्टन । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन्। सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन् ।

जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७/२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताएका छन् । उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् ।

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ ।

उनका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस