
२३ माघ, काठमाडौं । नेकपा (ओली समूह) ले आज राजधानीम शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डा, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने रानाका साथ नारायणहिटी दरबार अगाडि आम सभा गर्न लागेको हो ।
नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए । सभा सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।
मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।