प्रदेश २

सदरमुकाम कलैया जोड्ने पुलको शिल्यान्यास

dudhaura pul silanyas

२३ माघ, वीरगञ्ज । १० करोड १५ लाख रुपैयाँको लागतमा बाराको कलैया सदरमुकाम जोड्ने दूधौरा नदीमाथि बन्ने पुलको शिलान्यास गरिएको छ । परवानीपुर गाउँपालिका–१ रहरियाडिह र प्रसौनी गाउँपालिका–५ लाई जोड्ने पुलको शिलान्यास गरिएको हो ।

शुक्रबार प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरेका थिए । ८२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको जिम्मा रायमाझी अबलिक आजाद कम्पनीले लिएको छ । २० महिना भित्र पुल बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेको रमेश सर्राफले जानकारी दिए । यो पुल बनेपछि परवानीपुर गाउँपालिकाको सदरमुकाम कलैयासँग सिधा सम्पर्क कायम हुन्छ ।

पुल बनेपछि जिल्लाको पश्चिमी भेगमा पर्ने परिवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिकाको खुटवा, बुनियाद, रहरियाडिह, कट्टी टोललाई सिधै सदरमुकाम कलैयासँग जोड्ने मन्त्री सोनलले बताए ।

पश्चिमी क्षेत्रका जनताको माग अनुसार नै दूधौरा नदीमा पुल बनाउन लागिएको उनको भनाइ छ । प्रदेश सरकारले बेलहिया गाउँमा पर्ने संसारीमाई पुलपनि ठेक्का लगाउँदैछ । पालिकाको केन्द्र जोड्ने सडक, पालिका पालिका जोड्ने सडक, सम्पूर्ण पालिकालाई र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकामसँग जोड्ने सडक, जिल्ला सदरमुकामसँग हाईवे जोड्नेगरि सडक निर्माण गर्ने प्रदेश सरकारको योजना छ । सडकसँगै सडकमा पर्ने पुल पुलेसाहरु पनि बनाइने मन्त्री सोनलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस