
२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा भित्रको विवादले सिंगो देश बन्धक बनेको बताएका छन् । नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै उनले जनतालाई बेइमानी र धोका भएको बताए ।
‘‘ओली र प्रचण्डको नाटक र नौटंकीको प्रतिस्पर्धाले देशलाई दुर्घटनातर्फ धकेलिरहेको छ,’’ शनिबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै थापाले भने । उनले देशको स्वतन्त्र अस्तित्व र प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताउँदै त्यसको तयारी गर्न निर्देशनसमेत दिए ।
संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएको उनले उल्लेख गरे । ‘‘गरिबी, भ्रष्टाचार बढेर गएको छ । कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको छ,’’ उनले भने । मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन, तर्साउन करोडौँ खर्च गरेर सडक प्रदर्शन भइरहेको उनको भनाइ थियो ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको औचित्यमाथि प्रश्नचिह्न खडा भएको उनले बताए । ‘‘हिंसा, अस्थिरता र अराजकताको अन्त्य गर्न, नाटक र नौटंकीलाई बढार्नको लागिसमेत राष्ट्रवादी आन्दोलनको तयारी गर्नुहोस्,’’ अध्यक्ष थापाले भने ।