
२५ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार विहानको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार पानी परेपछि आजको तापक्रम ह्वात्तै घटेको हो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको हो । काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ ।
विहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव सकिएकाले दिउँसोदेखि घाम लाग्ने र केही दिन मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।
बिहीबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपातसमेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।
प्रतिक्रिया दिनुहोस