
२५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।
आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् । ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको प्रतिबद्धता समेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाई छ ।
अध्यक्ष नेपालले आफुहरुको संविधान प्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ । आफूहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको उनले बताए ।